३० असोज, काठमाडौं । सत्ता गठबन्धनले आइतवार काठमाडौंको काँडाघारीमा क्षेत्र नम्बर २ का उम्मेदवारको परिचयात्मक कार्यक्रम गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको उपस्थितिमा उक्त कार्यक्रम भएको हो।
आइतबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उमेदवारहरूको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै प्रचण्डले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रूपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने बताए ।
आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके स्थायित्व नआउने र देश निरंकुशता र अराजकताको भुमरिमा फस्ने प्रचण्डको तर्क छ । उनले घर्तीलाई जिताएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्ने अवसर प्रदान गर्न मतदाताहरुलाई आग्रह पनि गरे ।
प्रचण्डले माओवादी र सरकारसँगको शान्ति सम्झौताका बेलामा एमालेका अध्यक्ष केपी ओलीले नेतृत्व गरेको भए देशमा लोकतन्त्र नआउने र माओवादीसँग भएको १२ बुँदै सम्झौता हुन नसक्ने दाबी गरे । उनले नेकपा एमाले अध्यक्ष ओलीलाई जालझेल गरेर नेतृत्वमा पुगेको आरोप पनि लगाए ।