२६ असोज, काठमाडौं । यही मंसिर ४ गते सोमबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरूको नामावली मंगलबार प्रकाशन गरेको छ ।
७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत कार्यालय र ८८ निर्वाचन अधिकृत कार्यालयमा परेको सोमबार परेको उजुरीमाथि छानबिन गरी आयोगले उम्मेदवारको नामावली प्रकाशन गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उजुरी पुष्टि भए उम्मेदवारी स्वतः रद्द हुनेछ ।
यसैबीच आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको मनोनयन कायमै राख्ने निर्णय गरेको छ । देउवाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै उम्मेदवारी कायमै राख्ने निर्णय गरिएको हो ।
आयोगले प्रकाशन गर्ने नामावलीहरूमध्ये कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा आज बुधबार बिहान १० बजेदेखि १ बजेसम्मको समयमा फिर्ता लिन सक्नेछन् । त्यसपछि आज दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रतिनिधिसभाका लागि २ हजार ५ सय २६ जनाले उम्मेदवारी दर्ता गराएका थिए, त्यसमा २ हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिला रहेका छन् ।
प्रदेश सभाका लागि ३ हजार ४ सय ७६ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसै गरी ९ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा ८ सय ५८ पुरुष र ८५ महिला रहेका छन् ।