२५ असोज, काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएकाहरूको नामावली आज प्रकाशन गर्ने भएको छ ।
आयोगमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष विश्व पौडेल, रेशम चौधरी, विजय गच्छदारलगायत विरुद्ध उजुरी परेको छ । जन्म मिति फरक परेको भन्दै परेको उजुरीमा प्रधानमन्त्री देउवाले आज दिउँसो २ बजेभित्र जवाफ दिइसक्नु पर्छ ।
आयोगले आज प्रकाशन गर्ने नामावलीबाट कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहे बुधबार बिहान १० बजेदेखि १ बजेसम्मको समयमा निर्धारण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने आयोगले जनाएको हो । सोमबार उम्मेदवार विरुद्ध उजुरी दिने निर्धारण गरिएको थियो । ती उजुरीहरूमाथि छानबिन गरेर नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार उजुरी पुष्टि भए उम्मेदवारी रद्द हुनेछ ।