२४ असोज, कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १५ जना बेपत्तामध्ये १३ जनाको शव फेला परेको छ। मृतक स्थानीय युवक हेमराज शाहीको मलामीमा गएका वडा नं. ४ का वडाध्यक्ष परबहादुर शाहीसहित १५ जना बेपत्ता भएका थिए।
मृत्यु हुनेमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित तिलागुफा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष परबहादुर शाही र सोही वडाका ६३ वर्षीय धनबहादुर शाही, ३६ वर्षीया छत्रबहादुर शाही, २८ वर्षीय खगेन्द्रबहादुर शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धनबहादुर शाही, ७६ वर्षीय अली शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भानबहादुर शाही, ४१ वर्षीय मोतीलाल शाही, २४ वर्षीय नरेशबहादुर शाही र २३ वर्षका प्रशान्त शाही रहेका छन्। मृतक सबै वडा नं. ४ राँचुलीकै रहेका छन्।
कर्णाली नदी र कुकुर खोलाको भाडीखोला घाटमा लास दाहसंस्कार गर्दैगर्दा खोलामा ठूलो पहिरो आएपछि मलामी गएकाहरू बेपत्ता भएका थिए। कालिकोट प्रहरी कार्यालयका प्रहरी निरीक्षक नन्दबहादुर रावतको नेतृत्वमा उद्धारमा खटिएका टोलीले २ दिनपछि मात्रै १३ जनाको शव आज सोमबार फेला पारेको हो।
दुईजनाको खोजी भइरहेको छ। प्रतिकूल मौसम र वर्षाले गर्दा कर्णाली राजमार्गको ठाउँ ठाउँमा पहिरो जाँदा खोजीमा समस्या आएको प्रहरीको भनाइ छ।
पहिरोले मुगु र कालिकोटमा गरी २१ जनाको मृत्यु भएको छ। मुगुको मुगु छायाँनाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर आठजनाको मृत्यु भएको छ।