२१ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रका एक पदाधिकारीले प्रचण्डले गोरखाबाट उम्मेदवारी दिने बताए। प्रतिनिधि सभाको मंसिर ४ गते हुने निर्वाचनमा प्रचण्ड गोरखाबाट चुनाव लड्ने भएका हुन्।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रचण्डलाई गोरखाबाट उम्मेदवार बन्न सुझाएका थिए। पटक पटक निर्वाचन क्षेत्र फेरिरहने प्रचण्डले यसअघि २०७४ मा चितवनबाट चुनाव लडेका थिए। तीनपटक संसदीय चुनाव लडेका प्रचण्ड २०६४ मा काठमाडौं १० बाट विजयी भएकोमा २०७० को निर्वाचनमा काठमाडौं १० मा पराजित भएका थिए। सिराह ५ बाट त्यतिबेला प्रचण्डले चुनाव जितेका थिए।