२१ असोज, काठमाडौँ । सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच सिट बाँडफाँडबारे मोटामोटी सहमति भएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा लोसपालाई प्रतिनिधि सभामा ८ र प्रदेश सभामा २१ सिट दिने मोटामोटी सहमति भएको हो ।
छलफलमा सहभागी एक नेताका अनुसार गठबन्धनले लोसपालाई मधेश प्रदेशमा रहेको प्रतिनिधि सभातर्फ ३२ सिट मध्ये ८ र प्रदेश सभातर्फ रहेको ६४ सिटमध्ये २१ सिट दिने सहमति भएको छ । तर, शुक्रवारको छलफलमा अन्तिम निर्णय भने हुन बाँकी रहेको ति नेताले बताए । उनका अनुसार शनिवार बिहान सिट बाँडफाँटबारे थप छलफल हुनेछ । यद्यपि, गठबन्धन र लोसपाबीच त्यही आसपासमा सहमति हुने ति नेताको दाबी छ ।
त्यस्तै लोसपा र गठबन्धनबीच तालमेल गर्दा नेताहरूको निर्वाचन क्षेत्र हेरफेर हुनसक्नेबारेमा पनि सहमति भएको छ । ‘आवश्यकताका आधारमा निवर्तमान सांसदहरूकाे निर्वाचन क्षेत्र हेरफेर हुनसक्ने बारेमा पनि सहमति भएको छ’, ति नेताले भने ।