समाचार

गगन थापा भन्छन् – कांग्रेस भित्रै विद्रोह गर्नुपर्ने बेला आयो

१४ आश्विन २०७९, शुक्रबार ०६:५२
गगन थापा भन्छन् – कांग्रेस भित्रै विद्रोह गर्नुपर्ने बेला आयो

१४असोज, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसभित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन्।

शुक्रबार बिहान चावहिलमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन चुनाव जित्नका लागि मात्र भएको उल्लेख गर्दै अघिल्लो निर्वाचनदेखि आउँदो निर्वाचनसम्म पार्टी गोलचक्करमा मत्रै चलेकाले अब पार्टीभित्र संघर्ष गर्ने बेला आएको उल्लेख गरे ।

महामन्त्री थापाले नेपाली कांग्रेस भित्र सही ढङ्गबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको उल्लेख गरे । उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरू निर्वाचनको गोल चक्करमा मात्रै सीमित भएको बताए ।

उनले आफ्नो राजनीतिको सक्रिय समय १० वर्ष मात्रै बाँकी रहेको उल्लेख गरे । आफूलाई धेरै मूर्ख, पागल भन्ने गरेको वृत्तान्त सुनाउँदै थापाले आफ्नो कारणले देशमा दुईवटा मात्रै काम भए पुग्ने बताए । आफूले कसैलाई निराश नबनाउने प्रतिबद्धता जनाउँदै थापाले पार्टीको उद्देश्यमा आफू लागिरहेको र सधैँभरि लाग्ने बताए ।

डेंगु महामारीप्रति लक्षित गर्दै थापाले यत्रो महामारी फैलिसक्दा पनि सरकारले आपतकालीन बैठक बोलाएर समाधान नखोजेकोमा असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘सरकार कसैको हुँदैन, जनताको हुन्छ । यत्रो महामारी फैलिसक्यो। चाडबाडको वेला छ। आपतकालीन बैठक बोलाएर समाधानको उपाए खोज्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्