११ असोज, काठमाडौँ । विश्व पर्यटन दिवसको अवसरमा आज महोत्तरी जिल्लाको प्रमुख भारतीय नाका भिठ्ठामोडमा भारतबाट नेपाल आउने पर्यटकलाई स्वागत एवं सम्मान गरिएको छ ।
महोत्तरी जिल्लाको मुख्य भारतीय नाका भिठ्ठामोडमा विदेशी पाहुना (पर्यटक)लाई जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, नेपाल प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक कृष्ण पङ्गेनी र होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका कार्यक्रम संयोजक दीपेन्द्र पराजुली सहितका व्यक्तिले सो नाकाबाट नेपाल भित्रिएका पर्यटकलाई खादा ओढाइ आज यहाँ सम्मान गर्नुभएको हो ।
भ्रमणमा आएका पर्यटकले सम्मानबाट आफूहरु निकै खुशी भएको र फेरि फेरि नेपाल भ्रमणको लागि आउने प्रतिबद्धता प्रकट गरेका थिए ।