१० असोज, ओखलढुंगा । शिक्षक हत्याको आरोपमा २२ वर्षीया युवती पक्राउ परेकी छन्। प्रहरीले सिद्धिचरण नगरपालिका–८ स्थित सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सुकदेव खनालका अनुसार उनलाई प्रहरीले सप्तरीको विष्णुपुर गाउँपालिका–५ बाट शनिवार पक्राउ गरेको हो ।
उनीमाथि सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर हाल चिसंखुगढी गाउँपालिका ४ लेखर्कस्थित कालिका आधारभूत विद्यालय शिक्षक ३३ वर्षीय दिपककुमार ठाकुरको हत्या गरेको आरोप लागेको छ। ठाकुर असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए। शिक्षकको कोठामा शव भएको स्थानीयले बताएपछि प्रहरी घटनास्थल पुगेको हो। घटनास्थल प्रकृतिका आधारमा हत्या भएको अनुमान गरेर प्रहरीले अनुसन्धान थालेको थियो।
ठाकुरलाई कुटपिट गरेर नाक, मुखबाट रगत आएको र घाँटीमा गम्छाले बाँधेर मुख थुनेको अवस्थामा फेला परेकाले हत्या भएको भन्ने तथ्य फेला पारेपछि छलमायालाई पक्राउ गरिएको हो । हत्या गरेर फरार भएकी उनलाई प्राविधिक र मानवीय विश्लेषणका आधार पक्राउ गरेको प्रहरीले जनाएको छ ।