समाचार

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार कोइरालालाई

२८ कार्तिक २०७८, आईतवार ०३:०८
क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार कोइरालालाई

तनहुँ: गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिने भएको छ ।

मञ्चको शनिबार दमौलीमा सम्पन्न बैठकले सो निर्णय गरेको हो । कला, संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत उहाँलाई उक्त पुरस्कार अर्पण गर्न लागिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

उक्त पुरस्कारको राशि नगद रु २५ हजार छ । यसैगरी गीतल राष्ट्रिय पुरस्कार २०७७ बाट कवि प्रोल्लास सिन्धुलिया र २०७८ बाट गायक राज सिग्देललाई पुरस्कृत गर्ने निर्णय भएको छ । उक्त पुरस्कारको राशि रु सात हजार रहेको छ ।

यस्तै गीतल प्रतिभा पुरस्कार २०७७ बाट लोकगायक शङ्कर परियार र २०७८ बाट लोकगायिका आशा बिसीलाई पुरस्कृत गरिने अध्यक्ष अधिकारीले जानकारी दिए । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ । मञ्चले भाषा, साहित्य र कला संस्कृतिको क्षेत्रमा स्थानीय तथा राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रतिनिधि छनोट नेकपा (एमाले)को चितवनमा हुने दशौँ महाधिवेशनका लागि तनहुँबाट प्रतिनिधि छनोट गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको तनहुँबाट शनिबार सर्वसम्मतरूपमा एमाले महाधिवेशन प्रतिनिधि छनोट भएको हो ।

क्षेत्र नं १ मा महिलातर्फबाट राष्ट्रियसभा सदस्यसमेत रहनुभएकी भगवती न्यौपाने, खुलातर्फ इन्द्रबहादुर कुँवर, हरिराज कँडेल, बाबुराम अधिकारी र कलावती ढकाल प्रतिनिधि छनोट हुनुभएको छ ।

क्षेत्र नं २ मा महिलातर्फ सविता रसाइली र राधा महत, खुलातर्फ एमाले जिल्ला अध्यक्ष केदार सिग्देल, रामचन्द्र उपाध्याय, धर्मराज खनाल, श्रीप्रसाद श्रेष्ठ र विष्णुभक्त सिग्देल चयन भएको निर्वाचन अधिकृत शिवदत्त ढकालले जानकारी दिए ।

दलिततर्फ बाबुराम सुनार महाधिवेशन छनोट भएको छन्  । महाधिवेशन प्रतिनिधिका लागि ४३ जनाको उम्मेदवारी परेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्