समाचार

ट्रक दुर्घटनामा २३ महिलाको मृत्यु

४ आश्विन २०७९, मंगलवार १३:१३
ट्रक दुर्घटनामा २३ महिलाको मृत्यु

४ असोज, एजेन्सी। देशको उत्तरी क्षेत्रमा पर्ने न्सामा जिल्लामा भएको घटनामा अरु ३५ जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।

भार क्षमताभन्दा बढी यात्रु बोकेकाले ट्रक दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ।  दुर्घटनामा परेको ट्रकमा ५८ जना यात्रु थिए। अत्यधिक यात्रु भएकाले गुडिरहेको ट्रक अनियन्त्रित भई पहाडबाट तल खसेको हो।

सडक यातायात तथा सुरक्षा निकायका प्रमुख कार्यकारी अधिकृत अलिनानी मिसिस्याले पनि क्षमताभन्दा धेरै यात्रु बोकेकाले ट्रक दुर्घटनामा परेको पुष्टि गरे।  दुर्घटनामा परेको ट्रकमा रहेका यात्रु सबै युनाइटेड चर्च अफ जाम्बियाबाट फर्किदै गरेको पनि उनले जानकारी दिए।  घटनाबारे जानकारी पाउनेबित्तिकै सुरक्षाकर्मी तथा स्वयंसेवक घटनास्थल पुगेर खोजी तथा उद्धार गरेको उनले बताए।

घटनाबारे अनुसन्धान सुरु गरिसकिएको पनि उनले जानकारी दिए। घटनाबारे विस्तृत अध्ययन गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक गरिने पनि उनको भनाइ छ।  घटनाप्रति जाम्बियाका राष्ट्रपति हाकाइन्डे हिचिलेमाले गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकका आफन्तजनप्रति सहानुभूति पनि प्रकट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्