समाचार

सिट बाँडफाँटका लागि गठबन्धनको बैठक बालुवाटारमा

४ आश्विन २०७९, मंगलवार ०६:१८
सिट बाँडफाँटका लागि गठबन्धनको बैठक बालुवाटारमा

४ असोज, काठमाडौं । सत्ता गठबन्धनका दलहरु प्रत्यक्षतर्फको सीट भागबण्डामा सहमति जुटाउन पुनः छलफलमा व्यस्त भएका छन् ।

 प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बैठक बसिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

निर्वाचन आयोगले आइतवार र सोमवार समानुपातिक तर्फ संघमा ११० सिटका लागि बन्दसूची बुझाउने समय तोकेको थियो। गठबन्धन दलले सोमवार अन्तिम समयमा मात्रै बन्दसूची बुझाएका थिए। गठबन्धनले भदौमा प्रत्यक्ष तर्फको १६५ सिटको टुंगो लगाउने बताएको थियो। तर हालसम्म पनि कुनै पनि सिटमा सहमति जुट्न सकेको छैन्।

२० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् ।

कार्यदल बैठकमा नेपाली कांग्रेसबाट सिटौलासहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्