समाचार

हिमपातको सम्भावना

१५ मंसिर २०७८, बुधबार १५:३४
हिमपातको सम्भावना

काठमाडौं: नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली (पश्चिमी ट्रफ) र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्र (कम दबाब प्रणाली) को प्रभावले आगामी तीन दिन हिमपातको सम्भावना देखिएको छ ।

जल तथा मौसाम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर उक्त प्रणालीका कारण आज बेलुकादेखि देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भ–ूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना देखिनाका साथै उक्त प्रदेशका पहाडी तथा तराईका केही भूभागमा फाटफुटदेखि हल्का वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

यी प्रणालीका कारण आगामी दिनमा तापक्रममा गिरावट आई चिसो बढ्नसक्ने सम्भावना रहेको बताइएको छ । विभागले यस मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आगामी आइतबार साँझदेखि पुनः अर्काे पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्नसक्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव तीन डिग्री र अधिकतम तापक्रम २१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्