समाचार

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै, सिट बाँडफाँटमा जुट्ला सहमति ?

२६ भाद्र २०७९, आईतवार ०३:११
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै, सिट बाँडफाँटमा जुट्ला सहमति ?

२६ भदौ, काठमाडौँ।  सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल बिनानिष्कर्ष टुंगिएको छ ।  शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन नसकेरै सकिएको हो । बैठक भोलि बिहान ८ बजे पुन: बस्ने नेताहरूले बताएका छन् ।

शनिबार बसेको छलफल बिनानिष्कर्ष सकिएपछि शीर्ष नेताहरूको बैठक आज पनि बस्न लागेको हो ।  सो छलफलमा सहमति जुट्न नसकेपछि बैठक फेरि बिहान ८ बजे बस्ने नेताहरूले बताएका छन् । आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन भन्दै प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शनिबार बेलुकी बैठक बसेको थियो ।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको बताइएको छ ।

आइतबार बिहान ९ बजेदेखि प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलका शीर्ष नेता सिट बाँडफाँटका विषयमा छलफलमा जुट्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

शनिबार बेलुकी पत्रकारहरूसँग कुराकानी गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दलहरू सहमति नजिक पुगेको दाबी गरेका थिए। दलहरू आफूले राखेको अडानबाट पछि नहट्दा सिट बाँडफाँटको विषय टुंग्याउन सकस भइरहेको छ। ‘कांग्रेस र मा‌ओवादी केही सिट घट्न तयार भए पनि जसपा र एकीकृत समाजवादी सिट संख्या घट्न तयार भइरहेका छैनन्,’ एक नेताले भने।

प्रतिक्रिया दिनुहोस्