समाचार

राष्ट्रपति भण्डारी राजीनामा दिने मुडमा

८ भाद्र २०७९, बुधबार १६:१०
राष्ट्रपति भण्डारी राजीनामा दिने मुडमा

८ भदौ, काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटबारेमा छलफल गर्न बुधबार शीर्ष नेताहरुको बैठक बोलाएको थियो, तर नागरिकता विधेयकलाई लिएर राष्ट्रपतिले चाल्नसक्ने सम्भावित कदममा धेरैको चासो रह्यो ।

बालुवाटार स्रोतका अनुसार भने राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिइहालेमा राजनीतिक कार्यदिशा के-कसरी अगाडि बढ्छ भन्नेतिर मात्रै बालुवाटारले परामर्श थालेको बताएको छ । कांग्रेसभित्र समेत आन्तरिक रूपमा त्यसबारेमा छलफल भएको स्रोतले जनाएको छ ।

तर, प्रतिनिधिसभाले राष्ट्रपति भण्डारीले फिर्ता पठाएको विद्येयक हुबहु प्रतिनिधिसभाबाट पारित गरेपछि उनी राजीनामा दिनेगरि आन्तरिक छलफलमा जुटेको बताईएको छ । राष्ट्रपति भण्डारीले राजीनामा दिन लागेकोबारे प्रधानमन्त्री शेरबहादुर देउवाले समेत सुईँको पाएको र उनले आफूनिकट नेताहरुसँग छलफल थालेका छन् ।

राष्ट्रपति भण्डारीले आफ्नो सुरक्षामा खटिएका अधिकारी र पूर्वरथिहरुलाई  बुधबार आफ्नै निवास  शितलनिवासमा बोलाएर भेट गरेकी हुन्। भेटमा ७० जना भन्दा बढी सुरक्षा अधिकारीहरु सहभागी रहेको बताइन्छ। पूर्वरथि र अरु गरी ७०/७५ जनासँगको भेटमा राष्ट्रपति भण्डारीले सुरक्षाका विषयमा पनि छलफल गरेको बताइएकाे छ।

संसद्मा भएको मतदानमा एमालेले विपक्षमा मतदान गरेको थियो । एमालेले नागरिकता विद्येयकमा अंगीकृतको सवालमा भारतमा जस्तै नेपालमा पनि विवाह गरेर आउने महिलालाई ७ वर्षको प्रावधान राखेर नागरिकता दिनुपर्ने अडान राखेको छ ।

प्रतिक्रिया दिनुहोस्