समाचार

एमाले स्थायी कमिटीको बैठक सुरु

७ भाद्र २०७९, मंगलवार ०६:५२
एमाले स्थायी कमिटीको बैठक सुरु

७ भदौ, काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

प्रतिनिधिसभाको जारी बैठक एक सातासम्म स्थगित गर्न आग्रह गरेर एमाले निर्वाचन केन्द्रित पार्टी गतिविधिमा जुटेको हो । आन्तरिक तयारी पूरा गरेर एमाले निर्वाचनमा होमिने योजनामा रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश तहको निर्वाचनको ठोस् योजना बनाउन पार्टीले आजदेखि भदौ १२ गतेसम्म स्थायी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो ।

एमालेले १२ भदौसम्मको कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार स्थायी समिति बैठक, ९ भदौमा पोलिट्ब्युरो बैठक, १० र ११ गते केन्द्रीय कमिटी बैठक तथा १२ भदौमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक आयोजना गरिने रिजालले बताए । एमालेकै आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आगामी १३ भदौमा बस्ने गरी मंगलबार प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।

एमालेको जारी स्थायी समिति बैठकमा पार्टी अध्यक्ष केपी ओलीले चुनावी रणनीतिबारे आफ्ना धारणा राख्ने भएका छन् । एमालेले ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्