राजनीति

पार्टी एकता र साझा घोषणापत्रको गृहकार्यमा प्रचण्ड र माधव

६ भाद्र २०७९, सोमबार ०८:३४
पार्टी एकता र साझा घोषणापत्रको गृहकार्यमा प्रचण्ड र माधव

६ भदौ, काठमाडौँ  । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एउटै घोषणापत्र लिएर जाने सहमति भएको छ ।

ललितपुरमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहभागी बैठकले एकता संयोजन समिति गठन गर्ने र चुनावी घोषणापत्र एउटै बनाउनेबारे निर्णय गरेको हो ।

ललितपुरको हात्तिवनमा भएको भेटमा पार्टी एकता र चुनावी घोषणापत्रबारे छलफल भएको नेपाल निकट एक नेताले जानकारी दिए। नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि संयोजन समिति बनाउने निर्णय गरिसकेका छन्। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि प्रचण्ड र नेपालले एउटै चुनावी घोषणापत्र बनाउन गृहकार्य गरिरहेका हुन्।

चुनाव अगाडी नै पार्टी एकता हुन सक्ने नेकपा एकीकृत समाजवादीका नेताहरुले बताएका छन्। प्रचण्ड नेपालबिच नेकपा राखेर त्यसमा अर्को केहि शब्द जोडेर पार्टीको नाम राख्ने बारेमा पनि छलफल भएको छ।

नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकार भित्र हँसिया हथौडामा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम चुनाव लडने तय भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्