राजनीति

फौजको रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन

३ भाद्र २०७९, शुक्रबार ०९:१८
फौजको रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन

३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

प्रचण्डले देशको विकास र सुशासनको लागि मुलुकले फेरि एकपटक माओवादीको नेतृत्व खोजेको बताएका छन् । परिवर्तनको बाहकलाई पन्छाएर परिवर्तन विरोधीबाट विकास र सुशासन सम्भव नभएको उनको भनाइ छ ।

पार्टीनिकट योङ कम्युनिस्ट लिग (वाईसीएल)को भेलालाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले राज्यलाई ठीक ढंगले नेतृत्व गरेमात्र जनताले चाहेको विकास र समृद्धिको चाहना पूरा हुने बताएका हुन् ।

‘हिजो हामी जनयुद्धमा हुँदा लडाईंको अग्रमोर्चामा को जाने भनेर प्रतिस्पर्धा हुन्थ्यो,’ प्रचण्डले भने, ‘कोही जान नपाएको खण्डमा हामी मर्न पनि जान नपाउने भने असन्तुष्टि हुन्थ्यो।’ तर, अहिले पद र सुविधाको लागि मात्र प्रतिस्पर्धा भएको प्रचण्डले बताए। ‘अहिले पद र सुविधाको निम्ति मात्र प्रतिस्पर्धा हुन्छ, संघर्षको निम्ति प्रतिस्पर्धा हुँदैन। आज भोलिको अनुभव अलिकति नमिठो बन्दै गएको छ।’

पार्टीभित्र देखिएको यस्तो विचलनको संकेत लाई चिर्न युवाहरुको भूमिका महत्वपूर्ण हुने प्रचण्डले बताए।

प्रतिक्रिया दिनुहोस्