समाचार

तत्काल घर नफर्कने मिटरब्याजी पीडितको अडान

२८ श्रावण २०७९, शनिबार ०१:३५
तत्काल घर नफर्कने मिटरब्याजी पीडितको अडान

२८ साउन, काठमाडौँ ।  मिटरब्याजबाट उत्पन्न अपराध नियन्त्रण तथा सुदखोरको पहिचान एवं छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव भीष्म भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

सरकारले माग पूरा गर्न भन्दै कार्यदल गठन गरे पनि आफूहरु विश्वस्त हुन नसकेको उनीहरुको भनाइ छ । यसअघि पनि सरकारले माग पूरा गर्ने आश्वासन दिएको, तर पूरा नभएको भन्दै अब त्यत्तिकै घर नफर्कने उनीहरुले अडान लिएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणले शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्य, गृह मन्त्रालयका उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहट्ठा सदस्य र सीआईबीका डीएसपी रोशन खड्का सदस्यसचिव रहेको कार्यदल गठन गरेका हुन् ।

नवलपरासीका मिटर ब्याजी पीडितहरूले १० दिन अघिदेखि काठमाण्डौको माइतीघरमा धर्ना दिँदै आएका छन् । उनीहरुको समस्या बुझ्न र समाधान गर्न भन्दै सरकारले हिजो गृह मन्त्रालयका सहसचिव भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलले हिजोदेखि नै काम थालेको छ ।

प्रतिक्रिया दिनुहोस्