बिबिध

दाइजोको लोभमा ७० वर्षे वृद्धसँग १२ वर्षीया बालिकाको विवाह गर्न खोज्दा

२८ श्रावण २०७९, शनिबार ०१:१६
दाइजोको लोभमा ७० वर्षे वृद्धसँग १२ वर्षीया बालिकाको विवाह गर्न खोज्दा

एजेन्सी। विवाह गर्दा उमेर, बानी व्यवहार, संस्कार हेर्ने गरिन्छ । तर ७० वर्षे वृद्धसँग १२ वर्षीया बालिकाको विवाह गर्न खोजिएको घटना पत्याउन गाह्रो पर्छ तर केन्यामा यस्तै घटना भएको छ ।

बालिकाका काकाले गाईहरू दाइजोमा पाउने लोभमा झुक्याएर बालिकाको विवाह वृद्धसँग गरिदिन लागेका थिए । बालिकालाई उसका दाइको विवाह हुन लागेको भनिएको थियो । बालिका अमीरा दाइको विवाह हुने भनेर खुशी थिइन् ।

स्थानीय सञ्चारमाध्यमसँग अमीराले भनिन्, ‘मलाई नयाँ लुगा दिइएको थियो, मेरो हातमा मेहन्दी लगाइएको थियो, खुशीयाली थियो र मलाई विभिन्न परिकार खान दिइएको थियो ।’ स्थानीय क्षेत्र भोकभरी प्रभावित क्षेत्र थियो, त्यसमाथि अनेक परिकार खान पाउँदा उनी खुशी थिइन् । केन्यामा सन् १९९० देखि बाल विवाह प्रतिबन्धित थियो ।

बाल विवाहको षड्यन्त्र भइरहेकोबारे अमीराका सौतेला भाइले थाहा पाएपछि उनले प्रहरीलाई खबर गरे । विवाहका लागि बेहुलीसहित गइरहेको गाडीलाई प्रहरीले रोकेर बाल विवाह रोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तो घटना भइरहँदा उनकी आमाको निधन भइसकेको थियो भने बुवा घरमा थिएनन् ।

प्रतिक्रिया दिनुहोस्