समाचार

मंसिर ४ गते चुनाव, भोलि मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने

१८ श्रावण २०७९, बुधबार १२:४७
मंसिर ४ गते चुनाव, भोलि मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने

१७ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्न सहमत भएका छन् ।

निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् । सत्तारुढ गठबन्धनको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्ने विषयमा समझदारी गरिएको एक नेताले जानकारी दिए ।

सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो । बैठकमा सहभागी एक नेता भन्छन्, ‘मंसिर ४ मा चुनाव गर्ने सहमति भएको छ, भोलिको क्याबिनेटले मिति घोषणा गर्छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसदको कार्यकालबारे पनि सामान्य छलफल गरेको ती नेताले जानकारी दिए । ‘संसदको कार्यकालको बारेमा सामान्य छलफल भयो तर अझै निष्कर्षमा पुगिसकिएको छैन । चुनावको मितिबारे सबैको एकमत छ,’ ती नेताले भने । संसदबाट कुनै पनि अवस्थामा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्नुपर्नेबारे छलफल भएको ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्