राजनीति

एमाले महाधिवेशन: १ बजेपछि मतगणना, गणना सुरु भएको २ घण्टामा परिणाम

१४ मंसिर २०७८, मंगलवार ०७:१५
एमाले महाधिवेशन: १ बजेपछि मतगणना, गणना सुरु भएको २ घण्टामा परिणाम

चितवन: सौराहमा जारी नेकपा ९एमाले०को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरु हुने भएको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिए । बिहान ११ बजे मतदान सकिएपछि केही बेर अगाडि मात्रै मुचुल्काको काम सकिएको भन्दै दाहालले मतगणना सुुरु गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए ।

निर्वाचन समितिका पदाधिकारीले केही बेर आराम गरेर मतगणना गर्ने तयारी गरेका दाहालको भनाइ छ । एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो । महाधिवेशनमा दुई हजार ९२ जनाले मतदान गरेका उनले बताए ।

एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए । महाधिवेशनअन्तर्गत विभिन्न ५० पदका लागि मतदान भएको थियो ।

निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको दाहालले बताए ।

महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्