समाचार

जनार्दनलाई दोषी पुष्टि गर्न संसदीय समितिले ‘भेटेन प्रमाण’

१३ श्रावण २०७९, शुक्रबार ०१:०५
जनार्दनलाई दोषी पुष्टि गर्न संसदीय समितिले ‘भेटेन प्रमाण’

१३ साउन, काठमाडौँनिवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करका दर हेरफेर गरेको विषयमा छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले आज सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाउँदैछ।\

वार्षिक बजेट तर्जुमा गर्दा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रमाण फेला नपरेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ । बुधबार र बिहीबार दुई दिनसम्म प्रतिवेदनका अन्तर्वस्तुमा छलफल गरेर समितिले प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन शुक्रबार सभामुखलाई बुझाउने तयारी समितिको छ । प्रतिवेदनका निष्कर्षका कतिपय विषयमा सत्तापक्ष र प्रतिपक्ष विभाजित भएका छन् ।

समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि अभियोग पुष्टिको प्रमाण फेला नगरेको निष्कर्ष निकालेको छ। तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निष्कर्षमा फरक मत राखेको छ। प्रमाण नभेटिएको नभइ मेटिएको विषय सामेल गर्नुपर्ने एमालेको फरक मत छ।

समिति सचिव सुरेन्द्र अर्यालले प्राविधिक विषय मिलाएर अब प्रतिवेदन बुझाइने बताए। अर्यालले भने, ‘करिब अन्तिम बैठक भएकाले प्रतिवेदन तयारी सम्पन्न भएको छ। प्राविधिक विषय मिलाएपछि सभामुखसमक्ष प्रतिवेदन बुझाइने छ।’

अर्यालले प्रतिवेदनका अन्तर्वस्तु र निर्णय प्रक्रियाबारे बताउन चाहेनन्। तर, एमालेका तर्फबाट समितिमा सदस्य रहेका खगराज अधिकारीले प्रतिवेदनमा आ–आफ्ना पक्षका विषय समेटिएको बताए। अधिकारीले केही विषय सहमतिमै टुंगिए पनि कतिपयमा छलफल नै बाँकी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्