२९ असार, रुकुम पश्चिम । रुकुम पश्चिममा जंगली च्याउ खाँदा बाँफिकोट गाउँपालिका ७ मग्मा नदुवाका आशिराम खत्रीको घरका पाँच जना बिरामी भएका छन्।
घरमुली आशिरामले मंगलबार बेलुका जंगलबाट च्याउ ल्याएर खाँदा परिवारका पाँच जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । बिरामी हुनेहरुमा ३६ बर्षीय आशिराम खत्री सहित उहाँको श्रीमती ३१ बर्षीया कुमारी खत्री, छोरा ६ बर्षीय शेरबहादुर खत्री, छोरी ३ बर्षीया धनमाया खत्री र भान्जा १४ बर्षीय निमबहादुर खत्री रहेको प्रहरी नायव उपरिक्षक बिष्णुकुमार सोतीले जानकारी दिए।
उनका अनुसार बिरामी पाँचै जनालाई बुधवार बिहान जिल्ला अस्पताल सल्लेमा उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये आशिराम उनकी छोरी धनमाया बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । अन्य तीन जना भने सामान्य अवस्थामा छन् ।
बर्खायाममा जङ्गली विषालु च्याउ खाएर मानिसहरू बिरामी परेको भन्दै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सचेत रहन आग्रहसमेत गरेको छ ।