२७ असार, काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्र र जनताको हितका लागि नै नेकपा (एकीकृत समाजवादी) पार्टी बनेको बताएका छन्।
सोमवार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले आगामी निर्वाचनमा वामपन्थी शक्तिहरूबीच मोर्चावन्दीको सम्भावना भने रहेको बताएका छन् । उनले वामपन्थी शक्तिहरूबीच निर्वाचनमा मोर्चावन्दी हुनुपर्ने पक्षमा आफू रहेको बताए । पछिल्लो समय माओवादी केन्द्रसँग एकताको चर्चा चलिरहँदा उनले निर्वाचन अघि कुनै पनि पार्टीसँग एकता नगर्ने प्रष्ट पारेका हुन् ।
गठबन्धनमा रहेका अन्य दलको समर्थन भएमा समाजवादी सरकारको नेतृत्व लिन तयार रहेको उनले उल्लेख गरे। सुदूरपश्चिममा अहिले समाजवादी र नेपाली कांग्रेसको समर्थनमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ। यस्तै, अध्यक्ष नेपालले चुनावअघि कुनै पार्टीसँग पनि समाजवादीको एकता नहुने बताए।
उनले अहिले कुनै पार्टीसँग एकता भन्दा पनि एकीकृत समाजवादीले संगठन विस्तारमा ध्यान केन्द्रित गरेको उनको भनाई थियो।
‘चुनावअघि हाम्रो कुनै पनि पार्टीसँग एकता हुँदैन,’ अध्यक्ष नेपालले भने, ‘पार्टी एकता हुन्छ कि भनेर कतिपय थर्कमान भएका छन्, अहिले थर्कमान नहुनु, मुटुको धड्कन नबढाएर ढुक्क भएर बसे हुन्छ।’