२६ असार, डोटी । बाजुराको बुढीगंगा नगरपालिका मेयर–उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ । १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ ।
मेयरमा एमालेका रामबहादुर बाँनियाले ४,७७७ मत पाएर विजयी हुँदा कांग्रेस उम्मेदवार रंगबहादुर खातीले ३,७७४ मत पाए । उपमेयरमा एमालेका उम्मेदवार मायाकुमारी खड्काले ४,७२७ मत ल्याएर विजयी भइन् भने कांग्रेस उम्मेदवार रिता शाहीले ३,७५५ मत पाइन् । एमालेले वडा नम्बर १, २, ३, ५, ६, ९ र १० मा तथा कांग्रेसले वडा नम्बर ४, ७ र ८ मा जित निकालेको छ ।
०७४ सालको निर्वाचनमा बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फबाट उम्मेदवार थिए रामबहादुर बानियाँ । त्यसबेला उनी नेपाली कांग्रेसका उम्मेदवार दीपकबिक्रम शाहसंग उनले २८५ मत अन्तरले पराजित भएका थिए । शाह ३ हजार ८४५ मत पाई निर्वाचित हुँदा बानियाँले ३ हजार ५६० मत पाएका थिए ।
३० वैशाखमा भएको चुनावमा बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको निर्वाचन आयोगको ठम्याइ छ । निर्वाचन आयोगका अनुसार वडा नम्बर २, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ मा काँग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल मतदान गरेका थिए ।