राजनीति

चुनावमा अन्तर्घात गर्नेमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय

२५ असार २०७९, शनिबार ०७:२१
चुनावमा अन्तर्घात गर्नेमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय

२५ असार, काठमाडौं । नेकपा स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले कतिपय केन्द्रीय सदस्यले नै निर्वाचनमा अन्तर्घात गरेको भन्ने आवाज उठेको भन्दै छानबिन समिति गठन गरिएको बताए ।

उनले पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकोले त्यसको समाधानका लागि पूर्वविद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल तीन जनाको सुझाव समिति पनि गठन गरिएको बताए । त्यस्तै, बैठकले प्रदेश कमिटी र केन्द्रबीचमा समन्वय कायम गर्नको निम्ति प्रदेश इञ्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति पनि बनाएको छ ।

प्रवक्ता महराले प्रदेश र केन्द्रलाई बलियो बनाउनका लागि साउन १८ गते गण्डकी, २० गते प्रदेश-१, २४ गते लुम्बिनी, २९ गते कर्णाली, २८ गते सुदूरपश्चिम, ३० गते विशेष, १ गते सम्पर्क समन्वय, ३ गते प्रवास बैठक तथा प्रदेश प्रशिक्षणका कार्यक्रम राखेको बताउनु भयो । प्रवक्ता महराले पोलिटब्युरो, स्थायी कमिटी, पदाधिकारी चयनमा आइरहेको समस्याको समाधान १५ दिनभित्र भइसक्ने दाबी गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्