राजनीति

माओवादी केन्द्रीय कमिटीको बैठक आज

२३ असार २०७९, बिहीबार ०३:२०
माओवादी केन्द्रीय कमिटीको बैठक आज

२२ असार, काठमाडौं। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज प्रज्ञा भवनमा बस्न लागेको छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। गत आइतबारदेखि जारी बैठकमा मंगलबार र बुधबार भने स्थगित भएको थियो।

महाधिवेशन भएको झन्डै सात महिनापछि बिहीबार प्रचण्डले पार्टीलाई पूर्णता दिन लागेका छन्। मंगलबार खुमलटारमा बसेको पूर्वस्थायी कमिटीका सदस्यहरूको बैठकले पार्टी कार्यविभाजनको जिम्मा प्रचण्डलाई दिइएको थियो।

पार्टीका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा बजेटसम्बन्धी विवादमा मुछिएपछि मंगलबार र बुधबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित भएको थियो। पार्टी अध्यक्ष  प्रचण्ड अर्थमन्त्रीको विवाद मिलाउनतिर लागेपछि केन्द्रीय समितिको बैठक लम्बिएको माओवादी नेता प्रह्लाद बुढाथोकीले बताए। आइतबारदेखि काठमाडौंमा माओवादीको केन्द्रीय कमिटीको बैठक सुरु भएको थियो।

प्रचण्डले आजको बैठकमा १ सय २५ सदस्यीय पोलिटब्युरो, ४१ सदस्यीय स्थायी कमिटी र पदाधिकारीहरूको नाम प्रस्ताव गर्ने पार्टीका पूर्व स्थायी कमिटी सदस्य दिनानाथ शर्माले जानकारी दिए। बैठकमा अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति नभए निर्वाचन प्रक्रियाबाट भए पनि टुंग्याइने उनको भनाइ छ।

गत पुसमा महाधिवेशन गरेको माओवादीले ६ महिना हुँदा पनि पदाधिकारीसहित स्थायी कमिटी र पोलिट्ब्युरो गठन गर्न सकेको छैन्।

प्रतिक्रिया दिनुहोस्