राजनीति

अर्थमन्त्री शर्माले दिए राजिनामा

२२ असार २०७९, बुधबार ११:१६
अर्थमन्त्री शर्माले दिए राजिनामा

२२ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।

बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् ।

 उनले आफू हजाराैँ छानबिनका लागि तयार रहेकाे बताएका छन् । आफूले देशको पक्षमा काम गर्दागर्दै पनि भ्रम सृजना हुनुमा उनले आपत्ति जनाएका छन् । राष्ट्रका लागि निरन्तर संघर्ष गर्दा पनि अनावश्यक लाल्छना लागेकाेप्रति उनले दुखेसाे पाेखेका छन् ।

छानबिन समितिको काममा पूर्ण सहयोग गर्ने उनले बताएका छन् ।  सत्यतथ्यले सबै स्पष्ट गर्ने उनी बताउँछन् ।

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन भएकाे छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्