राजनीति

माओवादी केन्द्रले एमालेसँग छलफल गर्ने निर्णय

२२ असार २०७९, बुधबार ०६:४४
माओवादी केन्द्रले एमालेसँग छलफल गर्ने निर्णय

२२ असार, काठमाडौं।  सत्तासाझेदार नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग छलफल गर्ने भएको छ।  माओवादीको पूर्वस्थायी कमिटी सदस्यहरूसँगको छलफलमा दाहालले अर्थमन्त्री प्रकरण बढ्दै गएको भन्दै कुरा राखेका थिए ।

अर्थमन्त्रीबारे छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको प्रमुख प्रतिपक्षी एमालेसँग माओवादीले छलफल गर्ने भएको हो। अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बुधबार बिहान बसेको पूर्व स्थायी कमिटी सदस्यको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा सहभागी भएका एक नेताका अनुसार पार्टी अध्यक्ष प्रचण्डले अर्थमन्त्रीमाथि उठेको प्रश्न गम्भीर बन्दै गएको र चाँडै निष्कर्षमा पुग्नुपर्ने  बताएका थिए । सो विषयमा निरन्तर विरोध गरिरहेको एमालेसँग निकासका लागि सकेसम्म आजै छलफल गर्ने निर्णय भएको ती नेताको भनाइ छ ।

अर्का एक स्थायी कमिटी सदस्यका अनुसार बुधबारको बैठकमा अर्थमन्त्रीलाई आफ्ना कुरा राख्न दिन एमालेलाई आग्रह गर्ने र त्यसपछि छानबिन समिति गठन गर्न आफूहरु तयार रहने भन्ने विषयमा निष्कर्ष निकालिएको छ।

प्रतिक्रिया दिनुहोस्