समाचार

विनोद शाही मृत्यु प्रकरण : अछाम सदरमुकाममा निषेध आदेश

२१ असार २०७९, मंगलवार ०५:५८
विनोद शाही मृत्यु प्रकरण : अछाम सदरमुकाममा निषेध आदेश

२१ असार, अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या आरोपीलाई बचाउन प्रयास गरिएको भन्दै स्थानीयबासीले आन्दोलन चर्काएका छन्।

स्थानीयबासीको आन्दोलनले उग्र रूप लिन थालेपछि प्रशासनले मंगलबार बिहानैदेखि सदरमुकाम मंगलसेन आसपासमा निषेध आदेश जारी गरेको छ।  मृतक शाहीका आफन्तले सोमबारदेखि नै हत्याका आरोपीलाई कडा कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन थालेपछि निषेध आदेश जारी गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ।

हत्यामा संलग्न भनिएकाहरूलाई जोगाउन सरकारी वकिल कार्यालयले नै भूमिका खेलेको आरोप लगाउँदै मृतक शाहीका आफन्तहरू आन्दोलनमा उत्रिएपछि प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो।

सोमवार बिहानै मृतक शाहीका आफन्तहरू नाराबाजीसहित जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न पुगेका थिए। उनीहरूलाई रोक्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच झडपको भएको र त्यसक्रममा केही घाइतेसमेत भएका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्दै केही राउण्ड हवाइ फायर समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्