राजनीति

राजीनामा बुझाएका मन्त्री आले राष्ट्रियसभामा जवाफ दिँदै

१२ असार २०७९, आईतवार ०९:३७
राजीनामा बुझाएका मन्त्री आले राष्ट्रियसभामा जवाफ दिँदै

१२ असार, काठमाडौं । पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष राजीनामा बुझाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय सभाको बैठकमा जवाफ दिइरहेका छन् ।

मन्त्री आलेले पोलिटब्युरो बैठकमा गरेको प्रतिवद्धताअनुसार आइतबार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन् । उनले शुक्रबारको पोलिटब्युरो बैठकमा २४ घण्टामा राजीनामा दिने पार्टी अध्यक्ष नेपाललाई प्रतिवद्धता जनाएका थिए ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथि सम्बन्धी मन्त्रीले जवाफ दिने क्रममा उनले आफ्नो पालोमा जवाफ दिन सुरु गरेका हुन् ।

बैठकमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले जवाफ दिएका छन् । यस्तै कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले पनि जवाफ दिएका छन् ।

यसअघि नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेपछि आलेसहित सरकारमा सहभागी ४ मन्त्री र ६ सांसदले संसदीय दलको बैठक बोलाउनु पर्ने माग राख्दै नेपाललाई ज्ञापनपत्र बुझाएका थिए । शनिबार भने आलेसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिएका थिए भने ४ जनाले हस्ताक्षर फिर्ता गरेका छैनन् ।

सातौँ र आठौँ नम्बरमा जवाफ दिने सूचीमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पनि भने आफ्नो पालो भन्दा अघि नै जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्