समाचार

एकीकृत समाजवादीले गठबन्धन बाहेकका दलसँग पनि सहकार्यलाई जोड दिने

११ असार २०७९, शनिबार १४:२२
एकीकृत समाजवादीले गठबन्धन बाहेकका दलसँग पनि सहकार्यलाई जोड दिने

११ असार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले गठबन्धन बाहेकका दलसँग पनि सहकार्यलाई जोड दिने भएको छ। शनिबार बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले यस विषयमा धारणा राखेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए।

‘कानुनी र राजनीतिक रुपमा नेकपा एमालेले एकीकृत समाजवादीलाई राजनीतिक दलको संज्ञा दिँदैन र अस्तित्व स्वीकार गर्दैन । यस्तो बेलामा एमालेसँग कुनै संवाद हुँदैन,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘एमालेले हामीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । त्यसलाई फिर्ता लिओस् र राजनीतिक दल हो भनेर मान्यता दिन्छ भन्ने निर्णय र अभिव्यक्ति आउनु पर्छ ।’

‘पाँच दलीय गठबन्धनलाई हामीले उच्च प्राथमिकता दिएका छौँ। हामी सबैसँग सहकार्य गर्छौँ तर कसैको शरण पर्दैनौँ। सहकार्य गर्न हामी खुला छौँ। यो कुरालाई आज हामीले बढी जोड गरेका छौँ। सबै दलहरुसँग छलफल खुला गर्ने छौँ। पाँच दलीय गठबन्धन हाम्रो प्राथमिकता हो। तर पाँच दलभन्दा बाहिर अरु दलसँग पनि खुला छलफल गर्नेछौँ भन्ने विषयमा हामी प्रष्ट छौँ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्