समाचार

विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

१० असार २०७९, शुक्रबार ०३:२१
विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

१० असार,काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार अहिले काठमाडौं, सिन्धुपाल्चोक, चितवनको भरतपुर, सप्तरीको फत्तेपुर, झापाको कन्काई, तनहुँ, बाँके, सुनसरी लगायत स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।

हाल देशको प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने पश्चिमी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको महाशाखाले जनायो।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने देखिन्छ। महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र वाग्मती प्रदेश का एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्