राजनीति

एमाले अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

१३ मंसिर २०७८, सोमबार ०५:५२
एमाले अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

काठमाडौं: नेकपा (एमाले) को अध्यक्षका लागि केपी शर्मा ओली र डा भीम रावलले उम्मेदवारी दर्ता गराए । उनीहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो ।

एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षको उम्मेदवारी दिए डा रावलले उम्मेदवारी फिर्ता नलिने बताए । यस्तै उपाध्यक्षमा राति घोषणा गरेको पदाधिकारी सूचीमा नपर्नुभएका घनश्याम भुसाल र सचिवमा भीम आचार्यले पनि उम्मेदवारी दिए ।

यसबाहेक सबै पदमा यसअघि घोषणा भएबमोजिम उम्मेदवारी परिरहेको छ । बन्दसत्रमा घोषणा गरिएका पदाधिकारीमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल थिए। यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवास नेम्वाङ र विष्णु पौडेललाई प्रस्ताव गरिएको छ ।

यसैगरी महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याल रहनुभएको छ ।

उनीहरु सबैले उम्मेदवारी निर्वाचनका लागि दिनुभएको छ । केन्द्रीय निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आधा घण्टा थप गरेर १० बजेसम्म पुर्याएको छ । यसअघि ८ बजेदेखि ९ः३० बजेसम्मको समय तोकिएको थियो ।

बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए । बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ ।

यस्तै बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । दिँउसो १२ः०५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ । मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ ।

मतदान सकिएपछि मतगणना हुनेछ । एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा ओलीलाई दिइएको थियो । उनले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेको छन् ।

उहाँले १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाए । विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गरेको छन् । रासस

प्रतिक्रिया दिनुहोस्