पत्रपत्रिका

मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय

१३ मंसिर २०७८, सोमबार ०२:३४
मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय

मङ्सिर १३, काठमाडौं। उपत्यकामा पछिल्लो समय दुई पाङ्ग्रे सवारीसाधनअन्तर्गत मोटरसाइकल तथा स्कुटरको चोरी बढेको छ । मोटरसाइकल चोर्ने गिरोह नै सक्रिय रहेको प्रहरीको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै खोजी कार्यलाई समेत तीव्रता दिएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जनक भट्टराईले विभिन्न समयमा हराएर फेला परेका दुुई हजार ३१५ मोटरसाइकल र आठ स्कुटर आइतबार सम्बन्धित धनीलाई जिम्मा लगाइएको बताए ।

मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै महाशाखाले ‘पीडित सहायता एकाइ’ स्थापना गरी सादा पोसाकका ट्राफिकमार्फत खोजी कार्यलाई तीव्रता दिएको छ । ट्राफिक प्रहरी निरीक्षक जितेश दहालको नेतृत्वमा १६ जना सादा पोसाकमा रहेका प्रहरीले शङ्कास्पद स्थान तथा व्यक्तिमाथिको निगरानी तथा खोजतलास बढाएको छ ।

चोरीमा गिरोह नै सक्रिय
मोटरसाइकल तथा स्कुटरको चोरीमा व्यावसायिक गिरोह नै सक्रिय रहेको खुलेको छ । आर्थिक अवस्था कमजोर भएका युवा तथा कतिपय किशोरसमेत यस्तो गिरोहमा संलग्न रहेको पाइएको छ । पीडित सहायता एकाइ प्रमुख प्रहरी निरीक्षक दहालले हराएका सवारीसाधनको खोजी कार्य तीव्र पारिएको जानकारी दिए ।

उनले भने, “उपत्यकामा मोटरसाइकल तथा स्कुटर चोरीमा फरक समूूहका विभिन्न गिरोह नै सक्रिय रहेको पाइएको छ, त्यस्ता व्यक्ति र समूूहमाथि निगरानी बढाएका छौँ ।” दहालका अनुसार पूर्वी तराई, काभ्रे–सिन्धुपालचोक तथा धादिङ–चितवनबाट परिचालित गिरोहको पहिचानसमेत भइसकेको छ ।

दहाल नेतृत्वको उक्त टोलीले चोरी नियन्त्रणका लागि शङ्कास्पद स्थान तथा त्यस्ता समूह र व्यक्तिमाथि समेत निगरानी बढाउँदै हराएका सवारीसाधनको खोजी तथा गोप्य सूूचना सङ्कलन गरिरहेको छ । हराएकामध्ये अधिकांश सवारीसाधन एकान्त तथा बेवारिसे स्थानमा पार्किङ पाइएको छ । उनका अनुसार पछिल्लो चार महिनामा मात्र विभिन्न गिरोहमा रही चोरी गर्ने २१ जनालाई नियन्त्रणमा लिई मुद्दा चलाइएको छ ।

अधिकांश फेला नै पर्दैनन्
उपत्यकाबाट दुई पाङ्ग्रे सवारीसाधनको चोरी बढे पनि कम मात्र फेला गर्ने गरेको महाशाखाले जनाएको छ । चोरी भएका सवारीसाधन उपत्यकालगायत ग्रामीण क्षेत्रमा प्रयोग गर्ने र कतिपय सवारीसाधनका पार्टपुर्जा खोलेर बिक्री हुने गरेकाले सवारीसाधन कम मात्र फेला परेको महाशाखाको निष्कर्ष छ ।

सवारीसाधनको चोरी नियन्त्रणका लागि पछिल्लो समय उपत्यका आसपासका ग्रामीण क्षेत्रमा सादा पोसाकका ट्राफिकसमेत परिचालन गरिएको छ । चोरी भएका मोटरसाइकल तथा स्कुटरको पार्टपुर्जासमेत बिक्री गरेको हुन सक्ने आशङ्कामा महाशाखाले विभिन्न मर्मत केन्द्र (ग्यारेज) माथि निगरानीसमेत बढाएको आजको गोरखापत्र दैनिकमा खवर छ।

प्रतिक्रिया दिनुहोस्