राजनीति

कैलाली जिसस प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

३० जेष्ठ २०७९, सोमबार ०८:४५
कैलाली जिसस प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

३० जेठ, कैलाली । कैलाली जिल्ला समन्वय समिति (जिसस)मा सत्तारूढ गठबन्धनका प्रमुख र उपप्रमुख विजयी भएका छन् ।

सोमबार भएको निर्वाचनमा समितिको प्रमुखमा नेपाली कांग्रेसका पदम कलेल र उपप्रमुखमा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका हुन् ।

प्रमुमा विजयी भएका कलेलले १३ मत पाउँदा नागरिक उन्मुक्तिका इन्द्र चौधरीले १२ मत पाए ।  उपप्रमुखमा माओवादी केन्द्रका भुसाल १३ मत पाएर विजयी भए । एमालेका राजेन्द्र खनालले १२ मत पाए ।

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले भने जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न पाएनन् । निर्वाचन आयोगले आइतबार कैलालीका मुख्य निर्वाचन अधिकृतलाई एक पत्र लेखी उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनलाई गाउँपालिका अध्यक्षको हैसियतमा कुनै अधिकार प्रयोग गर्न नदिन भनेको थियो ।

कैलालीको धनगढी उपमहागरपालिकामा स्वतन्त्रबाट मेयर जितेका गोपाल हमालको मतले जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धन विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्