समाचार

काठमाडौंको फोहोर उठाउन मध्यरातमा सहमति (सहमति-पत्रसहित)

२७ जेष्ठ २०७९, शुक्रबार ०५:०२
काठमाडौंको फोहोर उठाउन मध्यरातमा सहमति (सहमति-पत्रसहित)

२७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर उठाउने सहमति भएको छ । शुक्रबार अबेर राति भएको वार्तामा काठमाडौं महानगर र सिसडोल-बन्चरेडाँडाबीच फोहोर उठाउन १८ बुँदे सहमति भएको हो।

अब काठमाडौँ महानगरपालिकाबाट बञ्चरे डाँडा कुँडुलेसम्म फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीन रूपमा रातीको समयमा गर्ने सहमति भएको छ । रातीको लागि आवश्यक पर्ने पूर्वाधार बत्ती तथा बाटोको निर्माण तथा व्यवस्था महानगरपालिकाले तीन महिनाभित्र गर्नुपर्नेछ ।

‘काठमाडौं महानगरपालिकावाट बञ्चरे डाँडा कुडुँलेलेसम्म फोहोर ढुवानी गर्ने कार्य दिर्घकालिन रुपमा रातीको समयमा गर्ने, रातीको समयमा आवाश्यक पुर्वाधार बत्ती तथा वाटोको निमार्ण तथा व्यवस्थापन महानगरपालिकाले तीन महिनाभित्र गर्ने’ सहमति पत्रमा उल्लेख छ, ‘सिसडोल तथा बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिना भित्र व्यवस्थापन गर्ने ।’ सहमति पत्र अनुसार  फोहोर बोक्ने गाडीवाट बाटोमा लिच्चड नचुहिने ब्यवस्था एक महिना भित्र मिलाउने जिम्मेवारी महानगरपालिकालाई दिईएको छ ।

प्रभावित क्षेत्र आवतजावत गर्ने तीन पिप्ले गल्छी बैकल्पिक राजमार्गको लागि नेपाल सरकारसँग अनुरोध गर्ने देखी तीन पिप्ले देखी बञ्चरे डाँडासम्मको फोहोर ढुवानी गर्ने सडकको नाममा जग्गाको लागत कायम गर्न पहल गर्नेलगायत १८ बुदेँ सहमति भए पछि काठमाडौं उपत्यकाको फोहोर आज देखी उठने भएको हो ।

सम्झौता पत्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकिय अधिकृत लोकनाथ पौडयाल, ककनी गाउँपालिका १ नम्करका वडा अध्यक्ष पदम बहादुर श्रेष्ठ बलामी, तिलकबहादुर लामासहित धुनीवेसी नगरपालिकाका वडा अध्यक्षहरु श्रीमानबहादुर तामाङ, प्रकाश हमाललगायतल हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्