समाचार

जिल्ला समन्वय समितिमा एमालेको प्यानलै विजयी

२६ जेष्ठ २०७९, बिहीबार १३:३९
जिल्ला समन्वय समितिमा एमालेको प्यानलै विजयी

२६ जेठ, लमजुङ । लमजुङको जिल्ला समन्वय समितिमा नेकपा एमालेको प्यानल विजयी भएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका छन् ।

तीन नगरपालिकाको मेयर, एक गाउँपालिकाको प्रमुखसहित एक गाउँपालिकाको उपाध्यक्ष जितेको नेपाली कांग्रेसले समन्वय समितिको प्रमुख पदमा बाहेक अरू पदमा उम्मेदवारी दिएको थिएन ।

लमजुङमा रहेको ८ वटा स्थानीय तहमा एमालेको ९ र सत्ता गठबन्धनको ७ मत थियो । जिल्ला समन्वय समितिको उपप्रमुखसहित सदस्यहरूमा एमाले उम्मेदवार निर्विरोध भए पनि प्रमुखमा नेपाली कांग्रेसका मुरली कुमालले पनि उम्मेदवारी दिएका थिए ।

सत्ता गठबन्धनमा कांग्रेसको ५ मत र नेकपा माओवादी केन्द्रको २ मत रहेकोमा कांग्रेस उम्मेदवार कुमालले ६ मतमात्रै पाए । सत्ता गठबन्धनबाट १ मत क्रस हुँदा निर्वाचित एमाले उम्मेदवार गुरुङले १० मत पाए ।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार उपप्रमुख र सदस्य पदमा यसअघि नै एमालेका उम्मेदवार निर्विरोध भइसकेका छन् । उपप्रमुखमा बेंशीसहर नगरपालिका ७ का बुनाकुमारी रिमाल निर्विरोध निर्वाचित भएका छन् । महिला सदस्यमा मर्स्याङ्दी गाउँपालिका ३ का बबिता मजाकोटी सार्की, मध्यनेपाल नगरपालिका ३ का शारदा साँखी, सुन्दरबजार नगरपालिका २ का विमला खड्का निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्