समाचार

दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध

१३ मंसिर २०७८, सोमबार ०१:५६
दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध

मंसिर १३, काठमाडौं। सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढ्न सक्ने आँकलनसहित दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

गृह मन्त्रालयले आइतबार विदेशी नागरिक अध्ययन र अनुगमन गर्ने सरकारी निकाय अध्यागमन विभागसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र सीमा क्षेत्रमा रहेका प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउन निर्देशन दिएको हो । तर, कूटनीतिक, सरकारी र आपतकालीन काममा खटिएका कर्मचारीलाई भने प्रवेशमा रोक लगाइनेछैन ।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अध्यागमन विभागसहित मातहतका निकायलाई अर्को निर्णय नहुँदासम्मका लागि दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउन निर्देशन दिएको जानकारी दिए ।

‘कूटनीतिक, सरकारी र आपतकालीन काममा खटिएका कर्मचारीबाहेक दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को निर्णय नहुँदासम्मका लागि अनअराइभल भिसा नदिनू भनिएको छ, स्थलमार्ग र हवाइमार्ग हुँदै आउने नागरिकमा पनि कडाइ गर्न भनेका छौं,’ गृह प्रवक्ता पोखरेलले राजधानीसँग भने ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पत्ता लागेसँगै नेपालसहित दक्षिण पूर्वी एसियाका देशलाई उच्च सतर्कता अपनाउन सुझाएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्