समाचार

आजदेखि काठमाडौं महानगरपालिकाको कल सेन्टर सञ्चालनमा

२३ जेष्ठ २०७९, सोमबार १३:०४
आजदेखि काठमाडौं महानगरपालिकाको  कल सेन्टर सञ्चालनमा

२३ जेठ, काठमाडौं । आजदेखि काठमाडौं महानगरपालिकाको कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा आएको छ ।

नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्दै आजदेखि राष्ट्रिय सभा गृहमा केन्द्र सञ्चालन गरिएको हो ।

महानगरलाई उत्तरदायी स्थानीय सरकारका रुपमा स्थापित गर्न नागरिकका गुनासा सुन्ने प्रणाली विकास गरिएको महानगरका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) को भनाइ छ। ‘महानगर के गर्दैछ? जनताले सोध्न पाउनुपर्छ,’ मेयर शाह भन्छन्।

महानगरसँग कुनै गुनासो गर्नु छ भने वा केही सोधपुछ गर्नु छ भने निःशुल्क टेलिफोन नं. १६६००१ ०५५११ मा सम्पर्क गर्न सकिने छ । सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल भन्छन्, “सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको छ । अहिले पाँचवटाबाट थालेका छौँ ।”

कल सेन्टरमा कसैले टेलिफोन गरेपछि त्यो सीडीआर (कल डिटेल रेकर्ड) महानगरको सर्भरमा रेकर्ड हुने व्यवस्था गरिएको छ। गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरुको फोन नम्बर, फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन्। त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ।

यो विवरण भरिसकेपछि प्रणालीले स्वचालितरुपमा गुनासो सुनुवाई गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एसएमएस र इमेल पठाउँछ। इमेलमा गुनासोकर्ताको आवाज, समस्यासँग सम्बन्धित तस्बिर, भौगोलिक नक्सा तथा विवरण समावेश हुने ढकालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्