समाचार

एकीकृत समाजवादीबाट सिफारिस नयाँ मन्त्रीको सपथ भोलि

२२ जेष्ठ २०७९, आईतवार १३:२१
एकीकृत समाजवादीबाट सिफारिस नयाँ मन्त्रीको सपथ भोलि

२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सिफारिस भएका नयाँ मन्त्रीहरूकाे सपथ सोमवार हुने भएकाे छ ।

एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका चार जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको थियो।

आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरु विजय पौडेल र प्रमेश हमालले देउवालाई नामावली बुझाएका हुन् । पौडेलका अनुसार मेटमणि चौधरीलाई शहरी विकासमन्त्री, जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रममन्त्री बनाउने गरी सिफारिस भएको छ ।  यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाइने भएको छ । यसअघि राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिनेगरी पार्टीले सिफारिस गरेको पौडेलले बताए ।

यसअघि एकीकृत समाजवादीबाट प्रेम आले पर्यटनमन्त्री, किसन श्रेष्ठ श्रम तथा रामकुमारी झाँक्री सहरी विकासमन्त्री रहेकी थिइन् भने विरोध खतिवडा स्वास्थ्य मन्त्री थिए । उनीहरुलाई फिर्ता बोलाएर समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेको हो।​

प्रतिक्रिया दिनुहोस्