समाचार

सिसडोललाई एक हप्ताभित्र दूर्गन्धमुक्त बनाउँछौं : मेयर वालेन्द्र साह

२१ जेष्ठ २०७९, शनिबार ०३:५८
सिसडोललाई एक हप्ताभित्र दूर्गन्धमुक्त बनाउँछौं : मेयर वालेन्द्र साह

२१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ता भित्र दूर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन् ।

उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर शाहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका हुन्।

सिसडोलका बासिन्दाले मानव र फोहोर एकै ठाउँमा बस्न नसक्ने भएकाले फोहोर वा स्थानीयको उचित व्यवस्थापन गर्न माग गरेका थिए। आगामी दिनमा विगतमा जस्तै स्थानीयवासीको मागलाई बेवास्ता गरी अगाडि बढे थप समस्या सिर्जना हुने भन्दै ककनी गाउँपालिका-३ का अध्यक्ष घननाथ बजगाईंले समयमै माग सम्बोधन गर्न कामपालई आग्रह गरे।

काम गर्नलाई सहजीकरण गरी दिनका लागि बिहीबारमात्रै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग छलफल गरेको पनि शाहले बताएका थिए । ‘काममा सहजीकरण गरी दिन भन्दै हिजो मात्रै गएर छलफल गरेको थिएँ, त्यसैले थाहा पाएँ, आज पनि विद्युत र खानेपानीको मानिसलाई बोलाएको छु,’ उनले भने ।

छलफलमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने विषयमा छलफल भएको छ। केमिकल हालेर गन्ध हटाउन एक हप्ताको समय लाग्ने भन्दै उहाँले एक हप्तामा गन्ध नआउने बनाउन सकिने र केमिकल हाल्न आउने ट्रकलाई नरोक्न पनि स्थानीयवासीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्