समाचार

कांग्रेस आफू धोका खान्छ, अरुलाई दिँदैन : शेरबहादुर देउवा

२२ बैशाख २०७९, बिहीबार ०१:४९
कांग्रेस आफू धोका खान्छ, अरुलाई दिँदैन : शेरबहादुर देउवा

२२ वैशाख, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस आफूले खाए पनि अरुलाई धोका नदिने गरेको बताएका छन् ।

नेपाली कांग्रेस मोरङले बुधबार विराटनगरमा आयोजना गरेको चुनावी सभामा बोल्दै देउवाले यो पटक कांग्रेसका युवा नेता नागेश कोइरालालाई विराटनगर महानगरपालिकाको मेयरको टिकट दिलाएर न्याय गरेको बताए ।

नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले भने ‘कांग्रेसले धोका दिँदैन भन्ने सन्देश दिनुस् । उचाल्ने–पछार्ने धेरै हुन्छन्, यस्ताको पछि नलाग्नू ।’ गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन उहाँले आग्रह गर्नुभयो । कांग्रेस नेतृत्वको सरकारले ६५ वर्षदेखि नै वृद्वभत्ताको प्रबन्ध गर्ने उन ले बताए । अन्तर्राष्ट्रिय स्टान्र्डर्डअनुसार उक्त व्यवस्था लागू गरिने देउवा बताए ।

“यसअघि पनि पनि नागेश मेयरको आकांक्षी थिए, त्यसपछि प्रदेश सांसदको पनि टिकट दिन सकिँन,” देउवाले भने, “तर, यसपटक टिकट दिएर मैले नागेशमाथि न्याय गरेको छु । नागेशसहित गठबन्धनका उम्मेदवारले अत्यधिक मतले जित्नेछन् ।” देउवाले गठबन्धनमा इमान्दार भएर मतदान गर्न आग्रह गर्दै कांग्रेसले प्रतिबद्धता जनाएपछि कसैलाई पनि धोका नदिने गरेको जिकिर गरे ।

सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका छन्। त्यस्तै, नेता डा. शेखर कोइरालाले आगामी प्रदेश र संघको चुनावलाई ध्यानमा राखेर स्थानीय तहमा कांग्रेसलाई जिताउनुपर्नेमा जोड दिनुभयो । ‘स्थानीय तहमा कांग्रेसले जितेन भने आगामी प्रदेश र संघको चुनाव जित्न निकै गाह्रो हुन्छ’, कोइरालाले भने ‘त्यसो हुनाले विराटनगर मात्रै नभएर देशभर कांग्रेसलाई जिताउने अभियानमा लाग्न म सबैलाई आग्रह गर्दछु ।’

त्यसै गरी, सभामा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रमा नेकपा एमालेले अग्ला भवन र भ्युटावरलाई प्राथमिकतामा राखेको तर कांग्रेसले मान्छेलाई प्राथमिकता दिएको बताए । त्यस्तै, नेता महेश आचार्य, डा. मीनेन्द्र रिजाल, केन्द्रीय सदस्य डा. डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली, मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बु, विराटनगरका मेयरका उम्मेदवार नागेश कोइराला, उपमेयरका उम्मेदवार अमरेन्द्र यादवलगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्