समाचार

माओवादीले गर्यो १४ जनालाई कारबाही, जसपाद्वारा ६ जना निष्कासित

२० बैशाख २०७९, मंगलवार ०२:२५
माओवादीले गर्यो १४ जनालाई कारबाही, जसपाद्वारा ६ जना निष्कासित

२० वैशाख, विराटनगर । स्थानीय तह निर्वाचनमा पार्टीको निर्णयविरुद्ध बागी उम्मेदवारी दिने प्रदेश १ का १४ जनालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ।

पार्टी निर्णय विरुद्ध दिइएको बागी उम्मेदवारी फिर्ता गर्न दिएको निर्देशन अटेर गर्ने प्रदेश सदस्यहरू केपी बराल, भीम बहादुर अधिकारी, उदयपुरका प्रदेश विभाग प्रमुख यदु ढकाललाई  कारबाहीको लागि केन्द्रमा सिफारिस गरिएको माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती (सुशील)ले बताए।

उनका अनुसार निलम्बनमा पर्नेहरूमा उदयपुरका सावित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जामगर, रामप्रसाद बराल र सन्तोष सुवेदी रहेका छन्। धनकुटाका सिताराम श्रेष्ठ, ताप्लेलुङका जीवन ताम्लिङ र सुनसरीका राम विष्ट रहेका छन्।

विराटनगर महानगरको उपमेयरमा उम्मेदवारी दिएकी माओवादी केन्द्र महानगर सचिव नमिता न्यौपानेका बारेमा माओवादीले जारी विज्ञप्तिमा केही उल्लेख छैन। न्यौपानेलाई माओवादी नेताहरूकै साथ रहेको बताइएको छ।  गठबन्धनदलहरुमा सहमति नजुटे पनि न्यौपाने उपमेयरमा र केमुना ओडारी (शारदा) ले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका थिए। ओडारीले उम्मेदवारी फिर्ता लिए पनि न्यौपानेले भने पार्टीबाट आफू अलग भएको बताएकी छिन्। न्यौपाने २०७४ को निर्वाचनमा उपमेयरमा तेस्रो भएकी थिइन।

त्यसैगरि जनता समाजवादी पार्टीले विराटनगरको मेयरमा उम्मेदवारी दिएका उमेश यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएको छ।

विराटनगरका वडाध्यक्षका उम्मेदवारहरू जितेन्द्र साह, नन्दलाल मण्डल, वीरेन्द्र कामत, महिचन्द्र यादव र वडा सदस्यहरूलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरि निष्कासन गरिएको जसपा मोरङ अध्यक्ष राजकुमार यादवले बताए।

प्रतिक्रिया दिनुहोस्