काठमाडौं: नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा उद्यमशीलताको विकास गरेर मात्र समाजवादी व्यवस्थालाई समुन्नत बनाउन सकिने बताए ।
फाउण्डेशन फर क्रिटिकल डिस्कोर्ष नेपालले आज यहाँ आयोजना गरेको ‘समकालीन पूँजीवाद र नेपालमा समाजवादी आन्दोलन’ विषयक छलफलमा नेता खनालले विश्वव्यापीकरणको प्रभाव समाजवादी अर्थतन्त्रमा पर्ने हुँदा उत्पादन वृद्धि गरी जनताको जीवनस्तर सुधार गर्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले सरकारले कृषि क्षेत्रमा लगानी वृद्धि गरी आम्दानी बढाउन सकेमा समाजवाद सफल हुने विश्वास व्यक्त गर्दै पूँजी, प्रविधि, व्यवस्थापकीय सीप भित्र्याउनुपर्ने सुझाव दिए ।
माक्र्सको पूँजीवादी पालादेखि हालको वैज्ञानिक समाजवादको सुरुआत चरणको व्यवस्थाबारेमा सम्मानित नेता खनालले धारणा राखेका छन् । उनले क्रान्तिकारी सिद्धान्तबिना क्रान्ति सम्भव नहुनेमा जोड दिए ।
उनले दलाल पूँजीवादको शोषणमा पर्ने दिन समाप्त भएको बताउँदै अब वैज्ञानिक समाजवादको पक्षमा सबैले क्रान्ति गर्नुपर्ने धारणा राखेका छन् । दलाल पूँजीवादसँग जुधेर सामाजिक रुपान्तरण र देश विकासको पक्षमा लाग्नुपर्ने उनको भनाइ थियो ।
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य अशेष घिमिरे, नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला, डा खगेन्द्र प्रसाईँलगायतले राष्ट्रिय पूँजीको माध्यमबाट उत्पादन बढाउन त्यसका स्रोत र साधनलाई समाजको नियन्त्रणमा राख्नुपर्नेमा जोड दिँदै जनतासम्म प्रतिफल पु¥याउन न्यायोचित वितरण प्रणाली अवलम्बन गर्नुपर्ने बताए। रासस