समाचार

सप्तरीमा २३ दलका उम्मेदवार चुनावमा भिड्दै

१८ बैशाख २०७९, आईतवार १४:४७
सप्तरीमा २३ दलका उम्मेदवार चुनावमा भिड्दै

१८ बैशाख, सप्तरी । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गएपछि विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरू योजना बैठक, भेला, कोणसभामा व्वयस्त हुन थालेका छन् ।

सप्तरीमा उम्मेदवारी दर्ता गरेका २३ दलका उम्मेदवार प्रतिबद्धतापत्र र निर्वाचन चिह्नसहित घरदैलोमा पुग्नुका साथै कोणसभामा व्यस्त हुन थालेका छन् । सप्तरीमा सूचीकृत ३४ राजनीतिक दलमध्ये ११ दलको उम्मेदवारी नपरेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । केही दलले ठूला पार्टीको चुनाव चिह्नबाट उम्मेदवारी दर्ता गराएको राजविराज वडा नम्बर ७ का वडाध्यक्षका उम्मेदवार दीपककुमार दासले बताए।

सप्तरीमा उम्मेदवारी दिने २३ राजनीतिक दलमध्ये १९ दलले मात्र पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन कार्यालयले दिएको तथ्याङ्कअनुसार सप्तरीमा सबै नगरपालिकाको प्रमुख, उपप्रमुख र गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा उम्मेदवारी दिने तीन दल मात्र रहेका छन् । जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीका अनुसार नेकपा (एमाले), नेपाली कांग्रेस र जनमत पार्टीले मात्र सप्तरीको १८ वटै स्थानीय तहको प्रमुख दुई पदमा उम्मेदवारी दिएका छन् ।

जनता समाजवादी पार्टी नेपालले सुरुङ्गा नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएको छैन । त्यस पालिकामा नेकपा (माओवादी केन्द्र) सँग गठबन्धन रहेको जसपा सप्तरीका कोषाध्यक्ष वृजमान तामाङले बताए।

लोकतान्त्रिक समाजवादी पार्टीले सप्तकोशी र हनुमाननगर कंकालिनी नगरपालिका, अग्नीसाइर कृष्णसवरन गाउँपालिकाको दुवै पद र बलान बिहुल गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिन सकेको छैन । सप्तरीमा लोसपाको कुनै पार्टीसँग गठबन्धन नरहेको र आवश्यक तयारीका अभावमा तीन वटा पालिकाको प्रमुख पदमा उम्मेदवारी दिन नसकिएको लोसपाका केन्द्रीय नेता जयप्रकाश ठाकुरले बताए।

माओवादी केन्द्रले चार पालिकामा प्रमुख पदमा उम्मेदवारी दिन सकेको छैन । सुरुङ्गामा जसपाको भागमा प्रमुख र खडक नगरपालिकामा एकीकृत समाजवादीको भागमा उपप्रमुख दिएर गठबन्धन गरेको माओवादीको अन्य पालिकामा गठबन्धन भएको छैन ।

कञ्चनरुप र सुरुङ्गा नगरपालिका, राजगढ गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी नदिएको माओवादीको तर्फबाट रुपनी गाउँपालिकामा अरुणकुमार साहले दिएको मनोनयन रद्द भएको छ । मतदाता परिचय पत्र भए पनि मतदाता नामावलीमा नाम नभएका कारण साहको मनोनयन रद्द भएको पार्टी नेता किरण जायसवालले जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले १३ पालिका प्रमुखमा र १० पालिकाको उपप्रमुख÷उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छ । राप्रपाले बोदे बर्साइन नगरपालिका तथा राजगढ, रुपनी र महादेवा गाउँपालिकामा दुवै मुख्य पदमा उम्मेदवारी दिन सकेको छैन । खडक नगरपालिकाको उपप्रमुखमा तथा विष्णुपुर र अग्नीसाइर कृष्णसवरन गाउँपालिकाको उपाध्यक्षमा राप्रपाको उम्मेदवारी परेको छैन ।

नेकपा (एकीकृत समाजवादी) को १२ पालिकाको प्रमुखमा र १० पालिकाको उपप्रमुखरउपाध्यक्ष पदमा मात्र उम्मेदवारी परेको छ । डाक्नेश्वरी, हनुमाननगर कंकालिनी नगरपालिका तथा राजगढ र तिरहुत गाउँपालिकाको दुवै मुख्य पदमा नेकपा (एस)को उम्मेदवारी परेको छैन । खडक नगरपालिकाको प्रमुखमा, विष्णुपुर गाउँपालिकाको अध्यक्षमा, रुपनी, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एस)को उम्मेदवारी परेको छैन । राजविराज नगरपालिकामा उपप्रमुखमा मनोनयन दिनुभएकी ममता चौधरी गत विसं २०७४ को निर्वाचनमा नेकपा ९एमाले०को तर्फबाट समानुपातिक बन्दसूचीमा रहेका कारण नाम दर्ता हुन पाएनन् ।

एउटै व्यक्ति एकभन्दा बढी निर्वाचनमा उम्मेदवार हुन नसक्ने मान्यताका आधारमा बन्द सूचीमा नाम रहेसम्म उम्मेदवार बन्न नपाउने आयोगले पहिले नै जनाएको थियो । बन्दसूचीको नाम हटाउन सम्बन्धित राजनीतिक दलले नै सहजीकरण गरी आवश्यक प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्था छ । चौधरीले उम्मेदवारीबाट वञ्चित गरिएकोमा दुःख व्यक्त गर्दै कानुनी उपचारको खोजी भइरहेको बताएका छन् ।

एमालेले तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा तथा जनमत पार्टीले राजविराज नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला उम्मेदवार बनाएको छ । जनमत पार्टीले सप्तकोशी नगरपालिकामा प्रमुख पदमा महिला उम्मेदवार खडा गरेको छ ।

नेपाली कांग्रेसले सुरुङ्गा नगरपालिका प्रमुखमा महिला उम्मेदवार खडा गरेको छ । माओवादी केन्द्रले बलान बिहुल, नेकपा (एस) ले तिलाठी कोइलाडी, लोसपाले तिरहुत गाउँपालिका र नेमकिपाले रुपनी गाउँपालिकामा महिलालाई अध्यक्ष पदमा उम्मेदवार चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्