समाचार

पुन मेयर नबनाएको भन्दै एमाले परित्याग

१८ बैशाख २०७९, आईतवार ०३:२२
पुन मेयर नबनाएको भन्दै एमाले परित्याग

१८ बैशाख, काभ्रे। काभ्रेको बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठले पार्टी परित्याग गरेका छन् । उनले शनिबार पत्रकार सम्मेलन गरी आफूलाई नगर प्रमुखका लागि पुनः टिकट दिन आग्रह गर्दा पनि नेताले बेवास्ता गरेकाले पार्टी सदस्य परित्याग गरेको बताए ।

मैले गोकुल बाँस्कोटाले भनेको सबै काम कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाउने गरेको थिएँ । त्यहीअनुरूपमा अब आउने स्थानीय तहको निर्वाचनका लागि फेरि पनि नगर प्रमुखको टिकट मलाई नै दिनुपर्छ भनेर भन्दै आएको थिएँ । पहिलादेखि हुन्छ भनेर मलाई आश्वस्त पार्दै आउनुभयो, निर्वाचन निजिकिँदै गर्दा मेरो फोन नउठाउने र भेट्नसमेत समय नदिएर अन्तिममा अर्कैलाई उम्मेदवार बनाएपछि त्यही पार्टीमा बस्नुको औचित्य नदेखिएकाले परित्याग गरेको हुँ ।

श्रेष्ठले आफू नगर प्रमुख भएपछि उदाहरणीय काम गरेको दाबी गर्दै पुनः नगर प्रमुखको उम्मेदवार बनाउनुपर्ने माग गरेकोमा पार्टी जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले आफूलाई हुन्छ भन्दै आलटाल गरी अन्तिममा अर्कैलाई टिकट दिएको आरोप लगाए । ‘मैले बाँस्कोटाले भनेका सबै काम बोल्नेबित्तिकै कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाउने गरेको थिएँ ।

त्यहीअनुरूपमा अब आउने स्थानीय तहको निर्वाचनका लागि फेरि पनि नगर प्रमुखको टिकट मलाई नै दिनुपर्छ भनेर भन्दै आएको थिएँ,’ श्रेष्ठले भने, ‘पहिलादेखि हुन्छ भनेर मलाई आश्वस्त पार्दै आउनुभयो, निर्वाचन निजिकिँदै गर्दा मेरो फोन नउठाउने र भेट्नसमेत समय नदिएर अन्तिममा अर्कैलाई उम्मेदवार बनाएपछि त्यही पार्टीमा बस्नुको औचित्य नदेखिएकाले परित्याग गरेको हुँ ।’ उनले एमालेको संगठित सदस्य रहेको आफ्नो परिवारको पाँचजनाले नै पार्टी परित्याग गरेको बताए ।

केही महिनाअगाडि भएको एमाले बनेपा नगर कमिटी अधिवेशनमा पुनः मेयरको टिकट आफूलाई दिने भनेपछि नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितकारलाई अध्यक्ष बनाउन सहयोग गरेको बताएका छन् । तर, पछिल्लो समयमा आफूलाई बाइपास गरेर रञ्जितकारले मेयरको टिकट आफैँले लिएको उनले बताए ।

श्रेष्ठले पार्टी परित्यागसँगै नगर प्रमुखबाट समेत राजीनामा दिने बताए । ‘मजतिको मानिसलाई एमालेका नेताहरूबाट झुक्याउने काम भयो । मलाई भुलभुलैयामा राखेर अरूलाई टिकट दिइयो,’ उनले भने, ‘त्यसकारण पार्टी परित्यागसँगै बनेपा नगर प्रमुखको पदबाट पनि राजीनामा दिनेछु ।’

एमालेले बनेपा नगर प्रमुखको उम्मेदवारमा पार्टीका नगर अध्यक्ष रत्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटा दाहाललाई उम्मेदवार बनाएको छ । एमालेले धुलिखेल नगरपालिकाको प्रमुख एवं जिल्ला पार्टी अध्यक्ष अशोक व्याञ्जु र पनौती नगरपालिकाको प्रमुखमा यसअघिका नगर प्रमुख भीम न्यौपाने र उपप्रमुख गीता बञ्जाराबाहेक अरू पालिकामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्