समाचार

धनुषामा मेयरका चारसहित १०९ जनाको उम्मेदवारी फिर्ता

१७ बैशाख २०७९, शनिबार ०४:५०
धनुषामा मेयरका चारसहित १०९ जनाको उम्मेदवारी फिर्ता

१७ बैशाख, धनुषा। यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनको क्रममा भएको दाबी विरोध तथा उम्मेदवारी फिर्ताको क्रममा धनुषामा मात्रै १ सय भन्दा बढी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

जिल्लामा मेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी कूल १०९ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

धनुषामा एक उपमहानगर, ११ नगरपालिका र ६ गाउँपालिका गरी कूल १८ स्थानीय तह रहेका छन्। जसमध्ये उपमहानगरका मेयर पदका दुई, नगरपालिकाका दुई मेयर र गाउँपालिकाका एक अध्यक्ष पदका उम्मेदवारसहित १०९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

यस्तै धनुषाधाममा एक उपप्रमुखको उम्मेदवार सहित ७ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत चिरन्जिवी गौतमले जानकारी दिए । यहाँ लोकतान्त्रिक समाजवादी पार्टीबाट उपमेयरमा उम्मेदवारी दिएकी मेनका कुमारी सिंहले उम्मेदवारी फिर्ता लिएकी छन् । यस्तै वडाध्यक्षका २ र सदस्यका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्