समाचार

४१ जनाले फिर्ता लिए उम्मेदवारी

१७ बैशाख २०७९, शनिबार ०४:४२
४१ जनाले फिर्ता लिए उम्मेदवारी

१७ बैशाख, म्याग्दी। आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रवार उम्मेदवारी फिर्ता गरेका छन् ।

म्याग्दीका छ वटा स्थानीय तह र ४५ वटा वडामा वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार मनोनयन दर्ता गराएकामध्ये विभिन्न पदका ४१ ले फिर्ता लिएका जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए ।

उनका अनुसार जिल्लाभर कूल उम्मेदवारको संख्या ७१८ जना कायम भएको छ । अध्यक्ष/प्रमुखमा ३, उपाध्यक्ष/उपप्रमुखमा ५, वडाध्यक्षमा ११, महिला सदस्यमा ५, दलित महिला सदस्यमा ४ र खुल्ला सदस्यमा १३ जनाको उम्मेदवारी फिर्ता भएको कार्यालयले जनाएको छ ।

बेनी नगरपालिकामा २३, धौलागिरि गाउँपालिकामा ५, मङ्गला गाउँपालिकामा ७ र रघुगङ्गा गाउँपालिकामा ६ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् । धौलागिरि गाउँपालिकाको वडा नम्बर १ गुर्जाको वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका ३ जनाले उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्